Monday, December 31, 2018

From Cardff diaries

6th January, 2010
बिहान झ्याल खोली हेर्दा थाहा पाएँ अगाडिको बाटो हिउँले टम्म ढाकिएको । कसरी हिंड्ने होला ? फेरि चिप्लिन्छु कि क्या हो…… यस्तै कुरा मनमा खेल्छन्। जीवनमा पहिलोपल्ट यसरी हिउँ देखेको छु । अगाडि दुइटा कार छन्, त्यसका ऐनाहरु सबै ढाकिएका छन् हिउँले । रुखहरु, ठाउँठाउँमा हिउँको थुप्रोले भरिएका । साना घरका छानाहरु, फोहोर फाल्ने बाकस, बुटाहरु, चिम्नी, खम्बाहरु, जताततै हिउँमात्रै । ठीक अगाडि एउटा गोलाकार ठाउँ छ जहाँ हिउँले छोएको छैन । किन हो, ठम्याउन सकिनँ। आकाशबाट अझै बरबर हिउँका ससाना (कपासजस्ता) मसिना टुक्राहरु खस्दैछन् ।

यहाँ आएपछि देखें-यहाँको बादल छिट्टै हिंड्छ, एकदम छिटो । मोटरहरु त्यस्तै, बाटोमा मान्छेहरु दौडिन्छन् (बर्गर खाँदै)। मान्छेको दिमाग छिटो चल्छ । सबै छिटोछरितो देखिन्छन्। यहाँ सबै फरक छ नेपालको भन्दा । यहाँका नियम नयाँ छन् र अनौठा पनि । Information overload ले मष्तिष्क थामिनसक्नु हुन्छ (in my case)। शान्ति छ, यति शान्त कि प्रत्येक पल सोच्नुपर्ने बाध्यता ‘कसैलाई असर पर्ला कि’ । उदाहरणको लागि –धाराबाट बगेको प्रत्येक थोपा तपतपले अर्को मानिसलाई डिस्टर्व गर्छ, अर्को, साइलेन्समा राखेको मोवाइलको भाइब्रेसनले अर्को कोठाको मानिस ब्यूँझिन्छ । यहाँ प्लानिङ गर्नुपर्छ जुन bad planner को लागि अलि कठिन कुरा हो । प्रत्येक कुरा समयमा हुन्छ, एक एक मिनेटको महत्त्व छ । जसले राम्रो प्लानिङ गर्छ, ऊ अघि बढ्छ । जस्तै, आवतजावतको लागि टिकट किन्नुपर्छ अनलाइन । Payment पनि अनलाइन जसको लागि ब्याङ्कमा खाता हुनुपर्छ । हातमा पैसा बोकेको मान्छे मैले देखेको छैन । अनि अर्को हुनुपर्ने कुरा मोवाइल । यो विनाको विदेश बसाइ (कम्तिमा मेरो लागि) असम्भव नै हुन्छ । कुरा हाँसउठ्दो छ तर वास्तविकता हो । Information overload यी कुरामा पनि लागू हुन्छन् । भाषा बुझिंदैन, ५०% जति बुझेर काम गर्नुपर्छ (in my case)। किनभने सबै विदेशी छन् । कहिलेकाहीं उल्टो बुझेर कुरा बिग्रिन्छ पनि । त्यो बाहेक यहाँको nightlife । मान्छे राति दुई बजे सुत्छन् र बिहान ढिला उठ्छन् (मेरो विपरीत)। यसले गर्दा अरुलाई पर्ने समस्या त छँदैछन् ।(हिउँ कीराजस्तै फुर्फुर् फुर्फुर् उँड्दैछन् आँखासामु) । अब पढाइकै कुरा गरौं । बेढंगको पढाइ यहाँ छैन । सबै नियमानुसार हुन्छ र एकदम छिटो । पढ्ने पढाउने तरिका बेग्लै, कम्प्यूटरमा । किताब कति पढ्नुपर्छ गनी साध्य छैन । फेरि group work मा विदेशी साथीहरुसँगै काम गरी नम्बर ल्याउनुपर्छ जुन कस्तो हुन्छ कल्पना गर्न सकिन्छ । यहाँको मौसम पनि अचम्मको छ, बिहान आठ बजे उज्यालो र दिउँसो तीन चारबजे अँध्यारो हुने । त्यसैले दिन बितेको पत्तै हुँदैन । तीन महिनासम्ममा पनि adjustment problem छ । रमाइलो लाग्दैन कुनै कुरामा किनकि यो आकर्षक छ तर बनावटी लाग्छ । चीसो यति छ कि रेडिएटरको तातोले रातदिन जहींतहीं निद्रा लाग्छ । कति हाँसउठ्दो कुरा ।

हिउँ केही पग्लिएछ । एकदिन सबैकुरा पग्लिन्छ । यहाँ सबै राम्रो छ, सफा छ तर पनि आफ्नो कोही, केही छैन । यहाँ मेरो आकाश धर्ती छैन । आफ्नोपना छैन । त्यसैले जीवन स्वदेश हो परदेश हैन । यहाँ सिकेर, जानेर, बुझेर देश फर्किनुको विकल्प छैन । Looking forward to being in Nepal….