Monday, March 16, 2009

नेपाली अनुवाद "अभाव के हो ?"


अभाव के हो तिमी मलाई सोध्छौ ? सुन । म तिम्रो नजिकै छु , डुङडुङती गन्हाउने दाँत र एउटा गतिलो भित्री लुगा विना ।
फोहरी र गन्धपुरी । म भन्छु ,सुन । कुनै सहानुभूति विना सुन । म तिम्रो सहानुभूति प्रयोग गर्न सक्दिन । बुझेर सुन । आफूलाई मेरो फोहर, च्यातिएको नमिल्दो जुत्तामा राख, अनि सुन ।

गरिवी भनेको प्रत्येक बिहान फोहोर र रोगीको टाटैटाटाको ओछ्यानबाट उठ्नु हो । तन्नाहरुले धेरै वर्ष अघिदेखि नै थाङ्नाको काम गर्दै आएका छन् । गरिवी कहिल्यै नछुट्ने गन्धसँग बाँच्नु हो । पिसाब, अमिलो दूध र बासी सडेको खानेकुरा जुन कहिलेकाहीं डढेको प्याजसँगै मिसिएर आउँछ, त्यही गन्ध हो यो । प्याजहरु केही सस्ता हुन्छन् । तिमीले यो गन्ध सुँघेको भए त्यो कसरी आयो तिमीलाई थाहा थिएन होला । यो सार्वजनिक शौचालयको गन्ध हो । रातको लामो अँध्यारो बाटोमा हिंड्न नसक्ने साना केटाकेटीहरुको गन्ध हो यो । वर्षौं देखि दुर्घटनामा परेका ओछ्यानहरुको गन्ध हो यो । स्टोभ बिग्रिएकोले फाटेको दूधको गन्ध हो यो । फेरि यसलाई बनाउन पैसा चाहिन्छ । यो कुहिएको फोहोरको गन्ध हो, मैले यसलाई गाड्न सक्थें तर स्यावेल खोइ ? स्यावेल किन्न पैसा चाहिन्छ ।

दरिद्रता भनेको थकित हुनु हो । म सधैं नै थकित भएको छु । अस्पतालमा मेरो अन्तिम बच्चा हुँदा उनीहरुले भनेका थिए मलाई रगतको कमी भयो रे, पोषिलो खाना र राम्रो स्याहारसुसारको कमीले गर्दा । अनि मेरो अपरेशन गर्नुपर्छ रे, म चुपचाप सुनिरहें । गरिवहरु सध्रैं चुपचाप रहन्छन् । उनीहरु सधैं सुन्छन् । भिटामिन चक्की, खाना वा औषधिको लागि पैसा छैन –अहँ कहिल्यै भन्दैनन् । अपरेशनको सोच नै भयानक हुन्छ र यति धेरै भयानक हुन्छ कि यसको आँट गर्नु मात्र पनि हाँस्यास्पद हुन्थ्यो । मेरा लालावालाको रेखदेख कसले गर्छ ? अपरेशनबाट पूर्णतया निको हुन धेरै समय लाग्छ । मेरा ३ छोराछोरी छन् । अस्तिनै मैले जागिर खाँदा जब उनीहरुलाई मूमासँग छोडेको थिएँ, घर फर्कंदा कान्छीको मुखभरि झंगा भन्किएको र उसको थाङ्ना म गएदेखि नफेरिएको भेटें । जब सुकेको थाङना निकालें, स–साना छालाका टुक्राहरु पनि सँगै आए। माइलोचाहिं फुटेको गिलासको तीखो टुक्रोसँग खेलिरहेको थियो । अनि मेरो जेठोचाहिं पोखरीको छेउमा एक्लै खेल्दैथियो । महिनामा १५०० रुपियाँ कमाउँथें, अनि तीनैजनालाई राम्रो स्कूलमा राख्न १००० रुपियाँ लाग्छ । मैले जागीर छोडें ।

गरिवी मैलो हो । तिमी आफ्नो सफा घरबाट सफा लुगामा निस्केर भन्छौ, 'जोसुकै पनि सफा हुन सक्छ ।' विना पैसाको घर चलनको बारेमा म तिमीलाई बताउँछु । खानाको लागि म केटाकेटीलाई तरकारी अचार विनाको ढिंडो वा रोटी दिन्छु । यसो गर्दा धेरै भाँडा लाग्दैन । जति लाग्छ, त्यसलाई चीसो पानीमा साबुन विना नै धुन्छु । सस्तोभन्दा सस्तो साबुन पनि बच्चाको थाङना धुन जोगाउनुपर्छ । मेरा हातहरु हेर त – कति फुटेका र सुन्निएका छन् ! एकचोटि मैले २ महिनासम्म बचत गरें – मेरा हात र बच्चाको पासेको घाउमा लगाउन भ्यासलिनको बट्टा किन्न भनेर । चाहिनेजति जम्मा भएपछि किन्न जाँदा त्यसको भाउ ५० रुपियाँले बढिसकेछ । कान्छी र मैले सास्ती खेपिरह्यौं । मेरा फुटेका खस्रा हातहरु चीसो पानी र कडा साबुनमा डुबाउन सक्छु कि सक्दिन भनेर मैले दिनहुँ सोच्नुपर्छ । तर तिमी भन्छौ चीसो पानी नै किन ? इन्धनको पैसा लाग्छ । तिमीले दाउरा बाल्यौ भने पैसा चाहिन्छ । बिजुली बाल्यौ भने पैसा लाग्छ । तातो पानी विलास हो । मसँग विलास छैन । मलाई थाहा मेरो वास्तविक उमेर भनें भने तिमी तीनछक पर्छौ । म एकदमै बूढी देखिन्छु । लुगा धुने ठाउँमा दिनहुँ मेरो ढाड यति धेरै बांगिन्छ कि मैले कहिले अरु काम गरें सम्भि्कनै सक्दिन । प्रत्येक रात म मेरो स्कूले बच्चाको लुगाको हरेक दाग धुन्छु र आशा गर्छु उसका लुगाहरु बिहानसम्ममा सुक्नेछन् ।

अभाव भनेको चीसो ठण्डी रातमा आगो हेर्दै जागराम बस्नु हो – यो जानेर कि अखबारले छोपिएका भित्तामा एक झल्को पर्नु भनेको सुतिरहेका केटाकेटी धुवाँको मुस्लोमा जल्नु हो । गर्मी महिनामा अभाव भनेको बच्चा रुँदा झिंगाहरुले आँसु चाटिरहेको हेर्नु हो । झ्याल–ढोकाका जालीहरु च्यातिएका छन् र तिमी यति कम भाँडा तिर्छौ तिमीलाई थाहा छ त्यो कहिले बन्दैन । साङ्लाहरु तिम्रो खानेकुरामा, नाकमा, आँखाभित्र र सुत्दा तिमीमाथि घसि्रनु दरिद्री हो । गरिवी भनेको पानी कहिल्यै पर्दैन भनेर आशा गर्नु हो किनभने पानी पर्‍योभने थाङ्नाहरु सु्क्दैनन् र छिट्टै तिमी कागजहरु प्रयोग गर्न थाल्छौ । गरिवी भनेको तिम्रा बच्चाहरुलाई सधैं सिंगाने देख्नु हो । रुमालहरु किन्नुपर्छ र थोत्रा लुगाहरु तिमीलाई अरु नै कामको लागि चाहिन्छ। झनै धेरै महंगा त एन्टिवायोटिक औषधि हुन्छन् । अभाव भनेको विना खाना पकाउनु र विना साबुन सफा गर्नु हो ।

गरिबी सहयोग माग्नु हो । तिमीले त्यो सहयोग नपाउन्जेल तिम्रा केटाकेटीले दु:ख पाउँछन् भन्ने थाहा पाएर तिमीले कहिल्यै मद्दत माग्नुपरेको छ ? यदि तिमीलाई ऋण माग्नु नै एउटा मात्रै सहयोग माग्ने बाटो हो जस्तो लाग्छ भने आफन्तबाट ऋण लिएको सम्झ । त्यो बेला कस्तो अनुभव हुन्छ म तिमीलाई भन्छु । तिमीले जानुपर्ने अफिस कहाँ छ तिमी पत्ता लगाउँछौ । अनि त्यो ठाउँमा ४–५ चोटि फनफनी चक्कर मार्छौ । आफ्ना केटाकेटीलाई सम्झेर तिमी भित्र छिर्छौ । सबैजना अति व्यस्त छन् । अन्त्यमा, कोही बाहिर आउँछ र तिमी आफूलाई मद्दत चाहिएको कुरा बताउँछौ ।
त्यो कहिलेपनि तिमीले भेट्नुपर्ने व्यक्ति हुँदैन । तिमी अर्को मान्छेलाई गएर भेट्छौ, अनि आफ्नो दरिद्रताको भएभरको लाज सामुन्ने छताछुल्ल पारेर पोखाइसकेपछि बल्ल यो त ठीक अफिस नै रहेनछ भनेर थाहा पाउँछौ । तिमीले यो सम्पूर्ण प्रक्रिया फेरि दोहोर्‍याउनुपर्छ र अर्को ठाउँमा फेरि शुरु गर्न यो सजिलो हुँदैन ।

तिमीले मद्दत मागेका थियौ, आखिर यसको मूल्य त हुन्छ नै । तिमीलाइ फेरि पर्खाइन्छ । कारण किन पनिबताइन्छ तर लाजको रातो र उडिरहेको पीडाको कालो बादलले गर्दा तिमीले खासै सुन्दैनौ ।

अभाव सम्झना हो । राम्रा भनाउँदा केटाकेटीहरु मेरो लुगा र दुर्गन्धको बारेमा क्रुद्ध भएको हुँदा निम्न माध्यमिक तहमा स्कूल छोड्नुपर्दाको सम्झना हो । कार्यालय सहायक आयो । मेरी आमाले उसलाई म गर्भवती भएको बताइन् । वास्तवमा म थिइनँ तर उनले त्यसो गर्दा मैले कुनै जागिर पाइहाल्छु कि भन्ठानिन् । म जागिर खाँदै-छोड्दै गर्दै थिएँ तर केही सिक्न सक्ने गरी लामो समयसम्म भने कहिल्यै खाइनँ । म सबैभन्दा बढी म विवाहित भएको क्षण सम्झन्छु । त्यसबेला म भर्खरकी थिएँ । अझै पनि छु । कुनै वेला हामीसँग तिमीसँग भएका सबैकुरा थिए । तातो पानी र सबैथोक भएको एउटा सानो घर अर्को शहरमा थियो । त्यसपछि मेरो श्रीमान्को जागिर गयो । केही समयको लागि बेरोजगारी बीमा र मैले पाउनसक्ने खालका जागिर थिए । हाम्रा सबै सामानहरु छिट्टै नै फेरि हामीसँगै भए र हामी यहाँ फर्क्यौं । त्यतिबेला म गर्भवती थिएँ । हामी शुरुमा आउँदा यो घर यति नराम्रो थिएन । प्रत्येक हप्ता यो झन्झन् नराम्रो हुँदै जान्छ । कहिल्यै केही मर्मत हुँदैन । अबचाहिं हामीसँग पैसा थिएन । मेरा श्रीमानका लागि केही निम्नस्तरका काम थिए तर अहिले जस्तै त्यसबेला पनि खानामै सकिन्थ्यो । मलाई थाहा छैन हामी कसरी २–३ वर्षसम्म ३ जना बच्चाहरु साथमा लिएर बाँच्न सक्यौं तर सक्यौं । म तिमीलाई एउटा कुरा भन्छु, मेरो अन्तिम बच्चा जन्मिएपछि मैले सम्बन्ध तोडिदिएँ । सम्बन्ध राम्रो थियो तर के सधैं तिमीले बच्चाहरुलाई यो फोहोरमा हुर्काइरहन सक्छौ ? कुनै पनि परिवार नियोजनको साधनलाई कति पर्छ कहिल्यै तिमीले सोचेका छौ ? मेरो श्रीमानले छोडेर जाने दिन ऊ जाँदैछ भन्ने मलाई थाहा थियो तर हामीबीच कुनै विदाइ भएन । मलाई आशा छ ऊ यो भद्रगोलबाट कतै माथि उक्लिन सक्षम भयो होला । हामीले उसलाई तल खसाल्छौं भन्ने आशा उसले कहिल्यै गर्न सक्दैन ।

त्यही बेला हो मैले मद्दत मागेको । जब मैले पाएँ, त्यो कति थियो थाहा छ तिमीलाई ? हामी चारजनाको लागि महिनाको ३५०० रुपियाँ थियो र छ पनि । मैले पाउनसक्ने अब त्यति हो, त्यति । तिमीलाई सायद अब थाहा भयो किन यहाँ साबुन छैन, सीयो र धागो छैन, तातोपानी छैन, सिटामोल छैन, जुकाको औषधि छैन, क्रीम, स्याम्पू केही छैन । यीमध्ये कुनै पनि छैनन् सधैं नै, सदा सदाको लागि नै । तिमी राम्रोसँग देख्न सक्छौ घरभाँडाको लागि मैले सयौं तिर्नुपर्छ । बाँकी जति प्रायः सबै खानामा जान्छ । मकैको पीठो, उसिनेको चामल, दाल र डेरीको दूधमा । आफूले भ्याएसम्म थोरै विजुली प्रयोग गर्ने कोसिस गर्छु । फेरि धेरै गर्नाले खानाको लागि त्यति नै कम हुन्छ ।

दरिद्रता अँध्यारो भविष्यमा हेर्नु हो । तिम्रा बालबच्चाहरु मेरा केटाकेटीसँग खेल्दैनन् । उनीहरु, आफूलाई चाहिने कुरा चोर्ने खालका केटाकेटीहरुतिर हेर्छन् । म अहिले नै उनीहरुलाई मेरो गरिवीको वारको साटो उनीहरुको जेलको वारपछाडि देखिरहेको छु । अथवा उनीहरु रक्सी र ड्रग्सको स्वतन्त्रतातिर फर्कनेछन् र आफूलाई अधीनस्थ पाउनेछन् । अनि मेरी छोरी ? आशा गरौं उनको लागि पनि पुरुषको झैं जीवन रहेको छ । तर तिमी मलाई स्कूलहरु छँदैछन् नि भन्छौ । हो, स्कूलहरु छन् । मेरा केटाकेटीहरुसँग अरु किताब, पत्रिका, पेन्सिल, रंगीविरंगी कलम र कागज छैनन् । र सबैभन्दा मुख्य कुरा, उनीहरुसँग स्वास्थ्य छैन । उनीहरुसँ कीटाणु छन्, उनीहरुसँग घाउ छन् , गर्मी महिनाभरि उनीहरुसँग पाकेका आँखा हुन्छन् । उनीहरु भुईंमा राम्ररी सुत्दैनन् न त मेरो खाटमा मसँग नै । उनीहरु भोकले ग्रस्त हुँदैनन् । मेरो रु. ३५०० ले हामीलाई बचाउँछ । तर उनीहरु कुपोषणबाट पीडित छन् । अँ साच्चि, स्कूलमा स्वास्थ्यको बारेमा पढाइएको म सम्झन्छु । यसले त्यति राम्रो भने गर्दैन । कुनै कुनै ठाउँमा स्वास्थ्य कार्यक्रम हुन्छन्, यहाँ हुँदैनन् । जिल्ला प्रमुखले यो धेरै खर्चिलो हुने बताए । स्कूल खाजा कार्यक्रम पनि हुन्छ । तर मेरा दुई छोरा छन् जो स्कूल पुगुन्जेलसम्ममा विग्रिसकेका हुनेछन् ।

तर तिमी मलाई स्वास्थ्य संस्थाहरु छन् नि भन्छौ । हो, धेरै स्वास्थ्य संस्थाहरु छन् र ती शहरमा छन् । म यहाँ शहरभन्दा २० कि.मि. टाढा बस्छु । त्यति हिंड्न त म सक्छु (आउँदाजाँदा ४० कि.मि. नै भए पनि) तर मेरा स–साना केटाकेटीले सक्लान् ? मेरो छिमेकीले ऊ जाँदा मलाई लैजन त लैजान्छ, तर उसले केही पाउने आश गर्छ, जस्तोसुकै तरिकाले किन नहोस् । म विश्वस्त छु तिमीले मेरो छिमेकीलाई चिनेका छौ। ऊ त्यो भद्दा मान्छे हो जो चिया दोकान, हजाम, कुनाको खुद्रा पसल आदिमा अवैध केटाकेटीका पतित आमाहरुमाथि सरकारले पैसा खर्च गरेकोबारे गुनासो गर्दै आफ्नो समय विताउँछ ।

अभाव एसिडको थोपो हो जुन आफ्नो भएभरको स्वाभिमान नगुमेसम्म त्यसमा झरिरहन्छ । अभाव एउटा करौंती हो जसले आफ्नो भएभरको सम्मान नहराएसम्म त्यसमा रेटिरहन्छ । तिमीहरुमध्ये कसैले मेरोजस्तो अवस्थामा आफू भए केही गर्थ्यौं भन्छौ र र पहिलो हप्ता वा पहिलो महिनाको लागि सायद गर्थ्यौ पनि तर एकपछि अनि फेरि अर्को वर्षको लागि चाहिं ?

सपना देख्न गरिवले पनि सक्छन् । त्यो समयको सपना जब पैसा हुन्छ । पैसा, पोषिलो खानेकुराको लागि, रोगको औषधिको लागि, भिटामिनको लागि, दाँत माझ्ने बुरुषको लागि, क्रीमको लागि, हतौडा र कीलाहरु र अलिकति जचाउनको लागि, स्यावेलको लागि, रंगरोगनको लागि, बँसाइसराइको लागि, सीयो धागोको लागि । पैसा पैंचो तिर्नको लागि, पैसा शहरसम्म जानको लागि । अनि साँच्चि, तातोपानीको लागि, अनि साबुनको लागि पैसा । एउटा सपना जब मद्दत माग्नाले स्वाभिमानको अन्तिम बिन्दु गुम्दैन । जब तिमी जाने अफिस अरु सरकारी अफिसहरुजत्तिकै राम्रो हुन्छ, जब तिमीलाई छिट्टै सहयोग गर्ने थुपै्र हातहरु हुन्छन्, जब उनीहरुले पराजय र पीडाको घडीमा साथ छोड्दैनन् । जब तिमीले आफ्नो कथा एकजनालाई मात्र सुनाए पुग्छ, र त्यो व्यक्तिले तिमीलाई अरु सहयोग गर्न सक्छ अनि तिमीले आफ्नो दरिद्रता बारम्बार प्रमाणित गरिरहनु पर्दैन ।

तिमीलाई यी सब कुरा भन्न म मेरो पीडाबाट बाहिर आएको छु । अर्कै ठाउँ र अर्कै समयबाट म आएको हैन, सम्झिराख । मजस्ता अरुहरु सबै तिम्रै वरिपरि छन् । हामीलाई क्रोधित मुटुले हेर, त्यो क्रोध जसले मलाई मद्दत गर्न तिमीलाई उत्प्रेरणा दिन्छ । त्यो क्रोध जसले तिमीलाई मेरो बारेमा भन्न लगाउँछ । गरीबहरु सधैं शान्त हुन्छन् । के तिमी पनि शान्त रहन सक्छौ ?

Writer: Jo Goodwin Parker

4 comments:

dev neupane said...

अभाव के हो ?
म यसको प्रतिकृया लेख्दैछु । लेख लामो र राम्रो भएकोले प्रतिकृया दिनकोलागि मात्रै अली समय लिदैछु ।

Anonymous said...

यति धेरै मिहिनेत गरेर अनुवाद गरेको देखेर धेरै खुशी लाग्यो ... धन्यवाद !!!

Anonymous said...

Great Job! Thank you so much....

dev neupane said...

अभाब भनेको दृष्‍टि हो । मलाई लाग्छ अभाब सम्पन्नताको एउटा स्वरुप हो । जस्लाई हामी गरीबी भन्छौ । गरीब को छैन ? सबै जना गरीब छन । फरक यती मात्र हो गरीबी को प्रकार फरक छ । कोही नाम को गरीब छन् कोही कामको, अनी कोही त दामको । लेख राम्रो लाग्यो भनेर पहिले नै भनिसक्केको छु । तर मलाई लागेको कुर एउटै मात्र हो त्यो हो लेखलाई शब्दानुवाद भन्दा भावानुबाद भएको भए अझ राम्रो हुने थियो । धेरै समय लिएर थोरै लेखेकोमा निरास नहुनु होला किन भने म पनि त एक अभाबमा नै बाँचेको गरीब न हुँ । सायद अभाब यहिनै हो कि ?